News & Events

  • Home
  • News & Events
Rescue of Female children who are in risk of Human Trafficking

15 June, 2018

बेचबिखनको जोखिममा रहेका ८ किशोरीको उद्धार

महिला खबर–

ललितपुर । जागिर पाउने आश्वासनमा अभिभावकलाई जानकारी नदिई काठमाडौंमा ल्याइएका ८ जना किशोरीको उद्धार गरिएको छ ।

काठमाडौंमा रहेको समाजसेवा र मानवअधिकारमा महिला, युवा सशक्तिकरण संस्थाले किशोरीको उद्धार गरेको हो । उद्धार गरिएका सबै एसइइ दिएका किशोरी हुन् ।

म्याक्स वेल कलंकीले विभिन्न जिल्लाका किशोरीहरुलाई काम लगाईदिने आश्वासन दिएर काठमाडौंमा ल्याई बेचेको थाहा पाएपछि किशोरीको उद्धार गरिएको समाजसेवा र मानवअधिकारमा महिला, युवा सशक्तिकरणका कार्यक्रम तथा संचार व्यवस्थापक लछु सापकोटाले बताए ।

यही जेठ २० गते सिन्धुपाल्चोकका ४ जना किशोरीलाई बनेपाबाट, २१ गते लमजुङका २ जना र सिन्धुपाल्चोकका २ जनालाई काठमाडौंबाट उद्धार गरिएको उनले बताए ।

उनका अनुसार उद्धार गरिएका किशोरी १३ देखि १७ वर्षका छन् । उद्धार गरिएका सबै किशोरीलाई काठमाडौंका दुईटा पुनस्र्थापना गृहमा राखिएको छ ।

किशोरीको उद्धार गरे पश्चात म्याक्स वेल कलंकीमा सोमबार राती प्रहरीले छापा मारी कम्पनीका म्यानेजर सबिन जिसी, कर्मचारी अनिता थापा र बिनोद ढुंगानालाई पक्राउ गरेको छ ।

घटनाको बारेमा महानगरीय प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान थालेको जानकारी दिएको छ ।

म्याक्स वेल कलंकीले देशका २२ जिल्लामा कार्यालय स्थापना गरेर घरपरिवारलाई थाहै नदिई किशोरीलाई भगाएर काठमाडौंमा ल्याउने र उनीहरुबाट ५ सय रुपैयाँ प्रवेश शुल्क उठाई डटपेन, कापी लगायतका विभिन्न सामानहरु बेच्न पठाउने गरेको थाहा भएको छ ।

उद्धार गरिएका किशोरीहरुले म्याक्स वेलले यसरी ल्याएका सबै किशोरीलाई एउटै ठाउँमा खाने बस्ने व्यवस्था समेत गरेको छ । काठमाडौंमा आइ मार्केटिङ् गरेको एक दुई महिनाभित्रै विदेश भ्रमणमा समेत पढाउने आश्वासन म्याक्स वेलले दिएको पनि किशोरीको भनाइ छ ।

म्याक्स वेलले परिवारको जानकारी बिना नै किशोरीलाई गाउँबाट भगाएर ल्याउने र विदेश पठाइदिने आश्वासनमा आफ्नै संरक्षणमा राखेका कारण कतै उनीहरुलाई बेच्ने उद्देश्यले हो कि भन्ने शंका लागेर उद्धार गरिएको समाजसेवा र मानवअधिकारमा महिला, युवा सशक्तिकरणले जनाएको छ ।

यसरी गाउँगाउँबाट ल्याइ काठमाडौंमा मार्केटिङ्मा पठाई विदेश पठाउने भनिएका किशोरीका बारेमा ग्रामीण महिला सृजनशील परिवारले जानकारी दिएपछि प्रहरीसँगको सहकार्यमा किशोरीको उद्धार गरिएको पनि सो संस्थाले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले घटनाको अनुसन्धान भइरहेकोले अहिले नै सबै कुरा भन्न नमिल्ने बताए ।

News Published: Mahila Khabar

https://mahilakhabar.com/news/2018/06/05/41826.html?fbclid=IwAR3fUpLoA2BGkKUF2i2pQpT0RLgf5F4Q6pDuyJvFoCijfOpEps6h-46s8Nw#.Wxaqw3OsWqB.facebook